१.कविता बारुणी
मन्दाक्रान्ता छन्द
SSS S,II III S,SI SSI SS
नादानीको,अभिनय गरी, लिन्छु प्याला म आफै
जानीजानी, म त पिउछु त्यो, बारुणी प्यास मेट्दै
गर्दा गर्दै, लत छ अहिले, वारुणीको बहाना
गर्नै पर्यो, नि अलमलमा, बारुणीकै सह्राना
प्याला भर्दै, पिउन छ यसै, व्यग्रतामा डुबेरै
पीडा मेरो, कम कम भयो ,बारुणी त्यो चुमेरै
निक्कै बढ्दै, छ जब यसरी,बारुणीमा मितेरी
काया मेरो, छ जलमय नै, छैन केही खडेरी
SSS S,II III S,SI SSI SS
सोझो मान्छे, पनि असुर झै, हुन्छ यो बारुणीमा
पीडा भुल्ने, चिज त छ यही, बारुणी जिन्दगीमा
जम्मै थाहा ,छ तन यसले, पार्छ आफ्नो निसाना
जान्दा जान्दै, नि मन छ उतै, छैन केही सिमाना
२. कविता: फर्केर नेपालमा
शार्दूलविक्रीडित
SSS IIS, ISI IIS, SSI SSI S
झल्को यो मनमा,असीम छ यता, त्यो प्रिय नेपालको
आफ्नो आँगन त्यो, सुरम्य छ उता, बेग्लै छ यो हालको
आमा यो परदेश, छैन सबैको, जस्तो म सोच्थे कठै
देखेको सपना, छ यो नयनमा, आसा बनेरै अझै
पैसा मात्र ठुलो, छ यो सहरमा, लड्दैछु जानेर त्यो
आ`को हो धन त्यो, कमाउछु भनी, मैदान टेकेर यो
आफ्नो जीवनको, धरातल भला, पार्नै छ उत्कर्षमा
पुछ्दै यो पसिना, शरीर यसरी, चल्दैछ सङ्घर्षमा
बर्षौ बर्ष यहाँ , कमाउन बसेँ, देशै बिरानो भयो
के नै रैछ र यो, उमेर यतिकै, ढल्केर खेरै गयो
अर्को साल उतै, म आउछु घरै, सम्झेर स्वादेशमा
बाकी जीवन यो, चलाउछु उतै, फर्केर नेपालमा
३.कविता : वार्धक्य
SSS IIS, ISI IIS, SSI SSI S
काया छैन अहो, जवान रहदा, जस्तो म बूढो भए
उस्तै तागत नै, रहेन नि ममा, त्यो जोस मर्दै गए
पाक्यो कपाल यो, मुजा सकलमा, पर्दैछ मेरो कठै
खा`को छैन अझै, हरेस तर यो, ढल्के जवानी यसै
के नै रैछ र यो, सबै जगतमा, जन्मेर मर्ने न हो
यात्रा जीवनको, समाधि पलमा, पुग्ने सबै नै त हो
साथै लानु कहाँ, सकिन्छ धनको, पोका त मर्दा उतै
कायाबाट त त्यो, उतार्छ कपडा, छोडेर जाँदा तनै
के के गर्न अझै, छ हिम्मत ममा, के मान्नु मैले डर
के के हुन्छ कहाँ, जुनै समयमा,यो प्राण के को भर
मेरा लोचनमा, छ मयूख कमी,वार्धक्य लागेर हो
थाक्ने छैन यसै, परन्तु मन यो, आफै म हारेर भो
४. कविता : आमा
शार्दूलविक्रीडित
SSS IIS, ISI IIS, SSI SSI S
आमा हुन् जननी, सदा जगतको,आमा विधाता यदा
आमा शब्द यसै, सुरम्य छ उनी, आराध्य हुन् सर्वदा
आमाको भुमिका, छ बालख हुदा, त्यो पाउ टेकाउन
भाषा ज्ञान दिदै, निरन्तर उनी, लाग्छिन् नि हुर्काउन
वैरी भाव लियो, भने पनि उनी, स्नेह दिन्छिन् तदा
सोच्दिनन् कुभलो, कदापि मनमा, निष्पाप आमा सदा
जस्तो भूल गरे, अपत्य सहजै, स्वीकार गर्ने कला
आमाको मनमा, अपत्य कलिला, कच्चा रहन्छन् भला
आमाको जहिले, समीप रहदा, लाग्दैन केही डर
आमा छैन भने, कुनै पनि यहाँ, अस्तित्व के बाँच्छ र
आमाको पहिलो, सवाल जहिले, त्यो भोक त्यो प्यासमा
लाग्यो चोट कतै, भने विकलमै, रुन्छिन् नि वात्सल्यमा
आमाको ममता, अनन्त छ सधै, माधुर्यताको धनी
आमा ज्ञान दिने, सदैव पहिलो, हो पाठशाला उनी
आमाको महिमा, छ अद्भुत उनी, हुन् नम्रता शिष्टता
आमा सारथि हुन्, पुरै जगतको, यो सत्यताको कथा
0 comments