शार्दूलविक्रीडित
SSS IIS ISI IIS, SSI SSI S
आमा यो परदेश छैन सबैको, जस्तो म सोच्थे कठै
देखेको अधुरै छ प्रिय सपना, आसा बनेरै अझै
पैसाले रजनी हरे पनि सदा, लड्दैछु जानेर त्यो
बाटो लाग्नु पर्यो कमाउन भनी, नेपाल छोडेर त्यो
आफ्नो जीवनको धरातल भला, पार्नै छ उत्कर्षमा
पुछ्दै यो पसिना शरीर यसरी, चल्दैछ सङ्घर्षमा
बर्षौ बर्ष यहाँ कमाउन बसेँ, देशै बिरानो भयो
के नै रैछ र यो उमेर यतिकै, ढल्केर खेरै गयो
औधी नै घरदेशको छ ममता, छोडेर आए पनि
आसा जीवनमा छ त्यो जिवित नै, फर्केर जाने भनी
देशै छोड्न कहाँ थियो रहरमा, त्यो बाध्यता नै थियो
बेकामे घरदेशमा बने म तब पो, नेपाल छोड्नै पर्यो
जोहो गर्छु भनी सदा म सुखको, छोडेर आफ्नोे घर
उस्तै हाल छ जिन्दगी तर अझै, लागेन यो मन्तर
अर्को साल उतै म आउछु घरै, सम्झेर नेपालमा
बाकी जीवन यो चलाउछु उतै,जस्तो छ उस्तै म मा
प्रकाश स्याङ्बो